प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आयो : नेता रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताएका छन् । उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्पष्टिकरण आफूहरुले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बनाई राखे ।

प्रतिनिधि सभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरु अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने उनको तर्क थियो ।

उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गरे ।

अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको भन्दै केपी शर्मा ओली समुह केन्द्रीय कमिटीको फागुन २८ मा बसेको बैठकले गरेका कुनैपनि निर्णय आफुहरुले नमान्ने बताएका छन् ।