४० वर्षपछि घर फर्किएका दुर्गाप्रसादको उपचार प्रदेश १ सरकारले गर्ने

क्षतिपूर्ति दिलाउन पनि पहल गर्ने


काठमाडौं । भारतको ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेल जीवन बिताएर ४० वर्षपछि घर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) को उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दुर्गाप्रसादको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका जानकारी दिए । मन्त्री कार्कीले तिम्सिनाको घरमा टोली पठाएर विवरण लिन निर्देशन दिसकिएको बताए ।

उनका अनुसार तिम्सिनाको अवस्था बुझेर उपचारको व्यवस्था मिलाउन भनिएको हो । साथै तिम्सिनालाई क्षतिपूर्ति दिलाउन प्रदेश सरकारले पहल गर्नेछ । कोलकताको उच्च अदालतले दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिइसकेको छ ।

दुर्गाप्रसादलाई कोलकाता उच्च अदालतले जेलबाट गएको बुधवार रिहाको आदेश दिएको थियो । आदेशअनुसार उनि शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका हुन् । व्यक्ति हत्या अभियोगमा सुनुवाइ विनै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार आफ्नो घर आइपुगेका थिए ।