नेपाल र बंगलादेशविच विभिन्न ४ विषयमा समझदारी

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


काठमाडौं । नेपाल र बंगलादेशविच विभिन्न ४ विषयमा समझदारी भएको छ । राष्ट्रपति भण्डारीको बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी गरिएको हो ।

दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको जानकारी दिनुभयो ।

यस्तै उर्जा व्यापारको लागि द्धिपक्षीय सहकार्यलाई अघि बढाउने, द्धिपक्षीय व्यापारको प्रबद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरुको विकासको लागि दुवै देशको सम्भावत्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने विषयहरुमा छलफल भएको पनि बताउनुभयो ।

नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापार वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवं अन्तरदेशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालहरुको विकास गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमण सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्किनु भएको छ ।