नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। समसामयिक विषयमा छलफलका लागि अहिले बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ।

पछिल्लो राजनीतिक अवस्था, दलहरु बीचको सहकार्यलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।  सर्वोच्च अदालतको फैसलासँगै एमालेसँगको एकीकरणबाट पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे अहिलेसम्म निर्णय गर्न सकेको छैन।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी जसपासँग सहकार्य गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघि बसेको स्थायी कमिटी बैठकले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर माओवादी केन्द्रबाट चुनाव जितेर सरकारमा रहेका मन्त्रीहरु एमालेको केन्द्रीय कमिटीमा मनोनित भइसकेका छन्। उनीहरुलाई कस्तो कारबाही गर्नेलगायतका विषयमा आजको बैठकमा निर्णय गर्ने तयारी छ।