स्थानीय तह सहिद स्मृति गोल्डकपको उपाधि आर्मीलाई



मकवानपुर : हेटौंडामा सम्पन्न स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

हेटौंडा उपमहानगरपालिका-१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक टोली साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।

आर्मीका लागि खेलको ३९औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरेका हुन्। आर्मीलाई जित दिलाउन उत्कृष्ट खेल प्रदर्शन गर्ने टेकबहादुर म्यानअफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ समेत प्राप्त गरे।

उपाधि विजेता आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता मकवानपुर–११ ले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा मकवानपुर–११ का अमीर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रोयल इन्फिल्ड बुलेट मोटरसाइकल प्राप्त गर्न सफल भएका छन्।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुर–११ का रन्जन विष्ट, बेस्ट डिफेन्डरमा आर्मीका दीपक गुरुङ, बेस्ट मिडफिल्डरमा आर्मीकै सेसेहाङ आङ्देम्बे, बेस्ट गोलरक्षक उपविजेता टोलीका विवश चौधरी र आर्मीका नवीन न्यौपाने वेष्ट कोच भएका छन्।