एमाले संसदीय दलको बैठक: वामदेव सहभागी, नेपाल–खनाल गएनन्

गृहमन्त्री थापा पनि दलको बैठकमा सहभागी


काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजेका लागि बोलाएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा शनिवार बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू भएको एमाले सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

आजको बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने छ।बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद भने  उपस्थित छैनन् । वामदेव गौतम बैठकमा उपस्थित भएका छन् ।

गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् । ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा पनि दलको बैठकमा सहभागी भएका छन् ।
औपचारिक रूपमा उनी माओवादी केन्द्रका सांसद भएपनि उनले माओवादी परित्याग गरेर एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।