‘आफूले नेतृत्व लिने नसके अर्कोलाई सघाएर ओलीलाई बिदा गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न दिन नहुनेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासंगको कुराकानीमा पौडेलले ओलीलाई पुनः सरकारको नेतृत्व गर्न दिनु मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने बताए । उनले संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने बताए।

‘केपी ओलीलाई निरन्तरता दिनु भनेको संविधानको उपहास गर्नु हो । लोकतन्त्रको उपहास गर्नु हो ।’ उनले भने, ‘नेतृत्वले संसदको अल्झन फुकाउने हो । प्रणालीको रक्षा गर्न र संसदको रक्षा गर्न पनि अग्रसरता लिने हो । सके आफूले नेतृत्व लिने नसके अर्कोलाई सघाएर भए पनि केपी ओलीलाई बिदा गर्नुपर्छ ।’

कसरी हुनसक्छ नेतृत्व परिवर्तन भन्ने प्रसङ्गमा उनले भने, ‘ओली इतर सबै मिल्नुपर्छ । ओलीलाई प्रधानमन्त्री पदमा राखिरहनु हुँदैन । नत्र भने न अदालतको सम्मान हुन्छ न संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मान हुन्छ । न नेपाली जनताको सम्मान हुन्छ ।’