कोभ्याक्ससहित २० लाख डोज खोप दुई साताभित्र आउने



काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउने छ ।

त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो ।

अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइने छ ।