एमाले केन्द्रीय कमिटीको बैठक आज, असन्तुष्ट पक्ष नजाने

केन्द्रिय कमिटी बैठक अघि सदीय दलको बैठक


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटी बैठक बस्नु पूर्व संसदीय दलको बैठक बस्ने भएको छ।

संसदीय दलको बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने अध्यक्ष केपी शर्मा ओलीले तयारी गरेका छन्।

बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार संसदीय दलको बैठकमा संसदीय दलको संशोधित विधानको प्रस्ताव छलफलका लागि प्रस्तुत हुनेछ । प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संशोधित विधानको प्रस्ताव तयार गरेको छ ।

बैठकमा सो प्रस्ताव छलफलका लागि पेश हुने भट्टराईले बताउनुभयो । उहाँकाअनुसार बैठकमा नेता बामदेव गौतमसहितको सहभागिता रहनेछ । यसअघि नेता गौतमले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने बताईसकेका छन् ।

केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने भएको छ। यस अघि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि उक्त समूह गएको थिएन।

प्रधानमन्त्रीको कार्यशैलीको विरोध गर्दै उनीहरुले अलगै भेला तथा बैठकहरु गर्दै आएका छन्। नेपाल समूहले फागुन २८ गते बसेको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नु पर्ने लगायतका मागहरु राख्दै आएको छ।