संसदीय समितिमा सरोकारवालासँग छलफल गर्न मानेनन् मन्त्री महासेठ



संसदको विकास तथा प्रविधि समितिमा बिहीबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र समिति सभापति कल्याणकुमारी खड्काबीच वादविवाद चल्यो। मन्त्री महासेठले समिति संसदीय मर्यादाविपरीत चलेको आरोप लगाए भने सभापति खड्काले आफूहरू मर्यादामै रहेको बताइरहिन्।

समितिमा मन्त्रालययका बारेमा उठेका प्रश्नको जवाफ दिन गएका महासेठले समिति मूल्य मान्यताविपरीत चलेको आरोप लगाए। समिति सभापति खड्काले राष्ट्रिय बहिरा महासंघ पनि बैठकमा आएको र उनीहरूले आफ्ना समस्या राख्ने बताएपछि मन्त्री कड्किएका थिए।

आफ्ना समस्या सुनाउन गएका बहिरा महासंघका प्रतिनिधि बैठकस्थल सँगैको अर्को कोठामा थिए। जब समिति सभापतिले ‘उहाँहरू आफ्ना कुरा राख्न आउनुभएको छ। सुन्दिनुहोला’ भनिन्, तब मन्त्रीले बोल्नका लागि समय मागे।

‘एकातिर मन्त्री र अर्कोतिर स्टेक होल्डर (सरोकारवाला) राखेर छलफल गरिँदैन, उनले भने, ‘यस्तो कुनै पनि समितिमा हुँदैन। यो नर्म्सविपरीत हो। तपाईंहरू (सांसद) ले प्रश्न गर्नुहोस् म उत्तर दिन्छु।’

समिति सभापतिले भनिन्- ‘यो मर्यादाविपरीत होइन।’ समिति सभापतिले मर्यादा शब्द प्रयोग गरेपछि मन्त्रीले फेरि भने – ‘मैले मर्यादाको कुरा गरेको होइन, नर्म्सको कुरा गरेको हो। यस्तो कुनै पनि समितिमा हुँदैन।’

मन्त्रीलाई सम्झाउँदै सभापति खड्काले भनिरहिन्- ‘यो नियमविपरीत हैन। यहाँ छलफल गरेर निष्कर्ष निकालिने हैन, उनले भनिन्, ‘उहाँहरूले मन्त्रीज्यूका कुरा सुन्नुहुन्छ।’ तर मन्त्री महासेठ भने यो विषय मान्न तयार भएनन्।

स्थिति छलफलभन्दा अन्यत्र गएपछि सभापति खड्काले मन्त्रालयका सचिवलाई बोल्न समय दिइन्। बैठक अहिले पनि चलिरहेको छ।