ग्रीन कफीले तौल घट्ने भन्दै ठगी गर्ने २ जना पक्राउ



काठमाण्डौ ।  प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ग्रीन कफीले मोटोपना घटाउँछ भनी ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । शुक्रवार ब्युरोले पत्रकार सम्मेलन गरी एक विदेशी नागरिकसहित दुई जनालाई सार्वजनिक गरेको हो ।

रसियाली नागरिक इगोरकुर्टस र काठमाण्डौ नयाँ बजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालीका सञ्चालक ४२ वर्षीय आशिष आचार्यले ग्रीन कफी खाइ वजन घटाएको विज्ञापन बनाइ सामाजिक सञ्जालमा राखेर ठगी गरेको उजुरीका आधारमा ब्युरोको टोलीले नियन्त्रणमा लिएको जनायो ।

विना औषधि, विना व्यायाम, विना डाइटिङ, कुनै साइड इफेक्ट विना, एक हप्तामा १३ किलोसम्म तौल घट्ने अचम्मको विधि पत्ता लगाएको भन्दै भ्रमपूर्ण सूचना फैलाइ बिक्री गरेर उनीहरूले ठगी गरेको सीआईबीले जनाएको छ ।

पत्रकार सम्मेलनमा ब्युरोका निर्देशक एवम प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले उनीहरूले नौ सय ६० रुपैयाँको ग्रीन कफीलाई २० र ४० हजार रुपैयाँसम्ममा बिक्री गरेर ठगी गरेको बताउनुभयो ।

डिआइजी थापाका अनुसार उनीहरूले कानुन बमोजिम अनुमति नलिइकन अन्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको छ । पक्राउ परेका अभियुक्तहरूको नेटवर्क भारत र रुसमा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी, २५ थान ल्यापटपलगायतका सामान बरामद गरेको छ ।