नेपाल समुहले गर्यो देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा



नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । नेपाल समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै नेपाल समुहले गरेको देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेलाको अन्तिम दिन बिहीबार भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भुसालले अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँने बताएका हुन् ।

पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताए । यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवाद हार्ने उनको भनाई थियो ।

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे विशेष प्रस्ताव पास गरेको छ । त्यसको निष्कर्ष पनि २ जेठ २०७५ सम्म कायम भएका पार्टी कमिटी, जनवर्गीय पेशागत कमिटी, केन्द्रीय विभाग र सम्पर्क मञ्च लगायतका सबै कमिटीलाई सक्रिय बनाउनु रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।