ओलीको आह्वानमा बालुवाटारमा चियापान, खनाल–नेपाल समूह नजाने



काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्। बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको हो।

चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका सबै सदस्यलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सर्वोच्च अदालतको फैसलासँगै पार्टी पूर्ववत् अस्तित्वमा आएपछि ओलीले सबै केन्द्रीय सदस्यलाई बोलाएर चियापान कार्यक्रमको आयोजना गर्न लागेका हुन्। तर चियापान कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरु भने सहभागी नहुने भएका छन्।

केही दिनअघि ओली समूहले एकपक्षीय बैठक गरेर केन्द्रीय सदस्यहरु थप तथा जिम्मेवारी हेरफेरको निर्णयबाट असन्तुष्ट बनेको खनाल नेपाल समूहले चियापान कार्यक्रममा नजाने जनाएको छ। खनाल–नेपाल समूहका नेता केन्द्रीय सदस्य ठाकुर गैह्रेले ओलीले आयोजना गरेको चियापान कार्यक्रममा आफूहरु सहभागी नहुने जानकारी दिए।

खनाल–नेपाल समूहले भोलि र पर्सि काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ। हिजो ओली र खनाल–नेपाल पक्षबीच वार्ता भए पनि दुबै पक्ष आ–आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन।