बागमतीका पहाडी जिल्लालाई पुग्ने रसायनिक मल चीनबाट ल्याइँदै



तातोपानी। बागमती प्रदेशका पहाडी जिल्लाहरूमा यस वर्ष चिनियाँ मल वितरण हुने भएको छ।

चीनबाट तातोपानी नाका हुँदै रसायनिक युरिया मल आयात सहज भएपछि सिन्धुपाल्चोकसहित काभ्रे र दोलखा लगायत जिल्लामा वितरण गर्न लागिएको हो।

हरेक बर्ष रसायनिक मल अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष अभाव हुन नदिन पहिलोपटक उत्तरी नाकाबाट पनि मल ल्याउन थालिएको हो। अहिले प्रक्रियागत तयारी गरी तातोपानी भन्सार कार्यालयबाट काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा मल पठाउने तयारी भइरहेको छ।

फागुन २३ गते भन्सारमा आइपुगेको मल बढीमा अब एक हप्ताभित्र काठमाडौंं पुर्‍याइने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। चीनको सिगात्से शहरबाट बढीमा ३ दिनमा मल नेपालको भन्सार गोदाममा आइपुग्छ।

यसअघि दक्षिणी नाकाबाट मात्रै मल भित्रने गरेकोमा उत्तरी नाका तातोपानीबाट समेत मल भित्रिएपछि किसानलाई राहत हुने अपेक्षा गरिएको छ। कृषि विभागबाट आवश्यक प्रकृया पूरा गराउन नसक्दा मल भन्सारको गोदाममै रहेको र काठमाडौं पुग्न बढीमा एक हप्ता लाग्ने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए।

उनका अनुसार भन्सारमा अहिले करिब ३ सय टन मल गोदाममा छ। उत्तरी नाकाबाट पहिलोपटक रासायनिक मल ल्याइनु एकदमै सुखद कुरा भएको खत्रीले बताए।

भन्सार कार्यालयमा ल्याइएको मल तुरुन्तै चेकजाँच गर्न आफूहरू सक्षम रहेको बताउँदै प्रमुख खत्रीले अरनिको राजमार्ग स्तरोन्नति हुन सके नाकाबाट आयात बढ्ने बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट मल ढुवानी अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानी सम्झौता गरी चीनको सिगात्से शहरबाट तातोपानी नाका हुँदै नेपाल ल्याउन लागेको हो।

शुक्रबार चीनको सिगात्सेबाट नेपाल भित्रिएको युरिया मलबारे जानकारि दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिनाभित्र आफूहरूले जिम्मा पाएको चार हजार मेट्रिक टन युरिया नेपाल ल्याइसक्ने जानकारी दिए।

‘अहिले दैनिक पाँचदेखि सातवटा ४० फुटे कन्टेनरमा मल आयात भैरहेको छ,’ शेर्पाले भने, ‘बीचमा अन्य कुनै समस्या नआएमा एक महिनाभित्रै चार हजार मेट्रिक टन मल नेपाल ल्याइसक्छौं।’ एउटा ठुलो कन्टेनरले २ मेट्रिक टन मल ढुवानी गर्न सक्छ।

नेपालका हरेक वर्ष युरिया मल अभाव हुने समस्या निराकरण गर्न उत्तरी नाका चीनबाट आयात परीक्षण गरिएको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले जानकारी दिए।

‘यसअघि दक्षिणी नाका हुँदै वीरगञ्जबाट मात्र रासायनिक आयात हुन्थ्यो,’ गत शुक्रबार भन्सारमा रहेको मल गोदामको अनुगमन गर्दै पाण्डेले भने, ‘केन्द्रबाट भेण्डर खोलेर आयात गर्दा समयमा आइनपुग्ने तथा आयातकर्ताले ल्याउनै कठिनाई भैरहेको थियो।’ पाण्डेले चीनबाट आयात भएको युरिया मल कम्तिमा १० दिनमै नेपाल आइपुग्ने र प्रतिकिलो दुईदेखि तीन रुपैयाँसम्म सस्तो पर्ने समेत जानकारी दिए।

चीनबाट आयात भएको युरिया पहिलो चरणमा सिन्धुपाल्चोक सहित काभ्रे, दोलखा लगायतका नजिकका जिल्लाहरूमा वितरणको तयारी रहेको कृषि विभागका महानिर्देशक डा। गोविन्द प्रसाद शर्माले जानकारी दिए। ‘चीनबाट युरिया आयातको ट्रायल शुरू भएको छ,’ शर्माले भने, ‘चीनबाट छिटो र सुलभ मूल्यमा मल नेपाल आएकाले नेपाली किसानले यो वर्षबाट मल अभाव भोग्नुपर्दैन।’

नेपालमा भारत, बङ्गलादेश र चीनबाट रासायनिक मल भित्रिने गरेको छ। अभाव नहोस् भनेर सरकारले पर्याप्त भण्डारण गर्न लागेपनि मल भन्सारमै रोकिने गरेको छ।

गत वर्ष सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा देशभरका लाखौं किसान प्रभावित भएका थिए। सरकारको व्यापक आलोचना भएको थियो।