माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

यस्ता छन् छलफलका एजेण्डा


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडाँमा आज ९ बजे स्थायी कमिटी बैठक बोलाएको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न वैठक बोलाएका हुन् । बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा छलफल हुने जनाइएको छ ।

 बैठकमा माओवादी छाडेर एमालेमा प्रवेश गरेका २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने नेता गणेश साहले जानकारी दिए । मातृ पार्टीमा नै फर्कने मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि ओली पार्टी कमिटी र संसदीय दलमा बहुमतमा छन् ।शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक गणितमा नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ ।

 एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय दुई केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत पूर्व माओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन् ।