एमालेभित्र नेपाल समूहले समानान्तर कमिटी बनाउने

एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । अब कसरी अगाडि बढ्ने भन्नेबारे पुनः छलफल गरेर निर्णय गर्ने उनले बताए ।

ओलीले नेकपा एमाले सग्लै रहे नेपालको कम्युनिस्ट आन्दोलन व्युतिन्छ भन्ने लागेर ओलीले एमालेलाई समेत फुटाउने दुरासय राखेर उक्त निर्णय गरेको हुनसक्ने माधव पक्षको निश्कर्ष निकालेको छ । यो समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ ।

यस्तै खनाल–नेपाल समूहले पार्टीभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू इतर खेमाका  नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफू निकट स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक बोलाएको थियो, जसले समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।

जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य  भुसालले बताए । ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ ।

यस विषयमा थप छलफल गर्न केन्द्रीय कमिटी र सांसदहरुको बैठक बस्ने भुसालले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिँदै नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको बताए । विधानमा भएको बाधा अड्काउ फुकाउको प्रयोग केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने उनले बताए ।