भारत र इङ्ल्याण्डबीचको पाँच खेलको टी–ट्वेन्टी सिरिज आज हुँदै



काठमाडौं : भारत र इङ्ल्याण्डबीचको पाँच खेलको टी–ट्वेन्टी सिरिज आज सुरु हुँदैछ।

यी दुई टोलीबीचको खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुँनेछ। भारतले यसअघि पाहुना टोली इङ्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित गर्दै न्युजिल्याण्डसँगको भेट पक्का गरेको छ।

आगामी अक्टोबरमा भारतले टी–ट्वेन्टी विश्वकप क्रिकेटको आयोजना गर्ने भएकाले आज सुरु हुने म्याचलाई महत्वका साथ हेरिएको छ। भारतका लागि इङ्ल्याण्डविरुद्ध जितको शिलशिला कायम गर्ने अवसर छ भने इङ्ल्याण्ड टेस्ट म्याचमा भएको हारको बदला लिने अवसरका रुपमा यो म्याचलाई सदुपयोग गर्न लागिपर्नेछ।

साथै भारतीय टिमले पाँच खेलको टी–ट्वेन्टी सिरिजमा प्लेइङ–११ र मैदानको पिचलाई लिएर प्रयोगको अवसर पाउने छ। भारत र इंग्ल्याण्डबीच अहिलेसम्म १४ टी–ट्वेन्टी म्याच हुँदा दुवै टिमले सात सात म्याच जितेका छन्। पछिल्ला पाँच म्याचमा भने भारतले चारवटा जित्दा इंग्ल्याण्डले एउटा मात्रै जितेको छ ।