महाशिवरात्रि: पशुपतिनाथमा तयारी, नुहाउन मेलम्चीको पानी



काठमाडौं : महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर परिसरमा धमाधम तयारी भइरहेको छ। त्यसअन्तर्गत आज परिसर सरसफाइ गरी सिँगार्ने काम हुँदैछ।

आज पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिँगारिने पशुपति विकास कोषले जनाएको छ। यस वर्षको महाशिवरात्रिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मुल मन्दिर परिसरमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।

पशुपतिनाथ मुल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान ४ बजेदेखि नै खोलिने छ। बिहान ४ बजेदेखि राति दर्शनार्थी नसकिएसम्म चारै ढोका खुला गरिने कोषले जनाएको छ। कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मुल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ।

नुहाउने व्यवस्था

मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै महाशिवरात्रि दिन बागमती नदीमा सफा पानी बगाइने भएको छ। धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ।

सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै बागमतीमा पानीको बहाव बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए।  गत १० गतेदेखि सुरुङमा पानी पठाउन थालिएकामा अहिले सुरुङ पूरै पार गरेर गत शनिबारबाट सुन्दरीजलमा आउन थालेको हो।

सवारी व्यवस्थापन 

यस्तै‚ महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने भएका छन्। तर, दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ।