पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा, मूल्य कति ?



काठमाडौँ – पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ।

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो ‘विश्रामपुर’ । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजल संग्रह प्रकाशित भएका थिए ।

राजनीतिले लगातार चुसेको एक गाउँको कथा ‘विश्रामपुर’ मा रहेको लेखकले बताएका छन् । आन्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण गरिएको छ ।

राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछि पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरण उपन्यासमा गरेको लेखकले बताए । सांग्रीला बुक्सले प्रकाशन गरेको ‘विश्रामपुर’ उपन्यास २७२ पृष्ठको छ र यसको मूल्य ४८४ रहेको छ ।