मौसम: पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने



काठमाडौँ – देशका अधिकांश पहाडी क्षेत्रमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ । सो निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने मौसमविदले बताएका छन् ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।