बाबुरामलाई तीन नेताले भ्रष्टाचार गरेको प्रमाण पेस गर्न रावलले दिए चुनौती



काठमाडौं । आफू चर्चामा आउन जसलाई पायो त्यसलाई जे पनि आरोप लगाउने प्रवृत्तिले डा.बाबुराम भट्टराई निकै अप्ठेरोमा परेका छन् । खासगरी प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग रिस साँध्न बाबुरामले बुढीगण्डकी परियोजनामा नौ अर्ब खाएर अलपत्र पारेको भन्ने आरोपले उनी चौतर्फी घेराबन्दीमा परेका छन् ।

नेपाली कांग्रेसले त आइतबार नै विस्तृत रूपमा आयोजनाबारे उल्लेख गर्दै बाबुरामलाई प्रमाण पेस गर्न चुनौती नै दिइसकेको छ । जबकि कांग्रेसकै सहयोगमा बाबुरामले गोरखामा चुनाव जितेका हुन् । कांग्रेसको चुनौतीपछि बाबुरामले नागरिक छानबिन समिति बनाउनुपर्ने र आफूले त्यसमा सहयोग गर्ने भनेर काइते भाषा बोलेका छन् ।

यसैबीच, सत्तारुढ नेकपाका नेता भीम रावलले पनि बाबुरामलाई तीन नेताले भ्रष्टाचार गरेको प्रमाण पेस गर्न चुनौती दिएका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले बुढीगण्डकीमा ओली, प्रचण्ड र देउवाले नौ अर्ब भ्रष्टाचार गरेको भए त्यसको प्रमाण अख्तियारमा पेस गर्न आफूले असोज १० गते नै आग्रह गरेकोमा अहिलेसम्म गरियो कि गरिएन ? भन्दै प्रश्न सोधेका छन् ।

‘डा.बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले नौ अर्ब खाएको प्रमाण आफूसँग भएको सार्वजनिक घोषणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभीमार्फत आग्रह गरेको थिएँ ।त्यसो गरियो कि गरिएन ? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ,’ रावलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन् ।