मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आज १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ । कर्णाली प्रदेशसभामा रहेका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् ।

संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा एक चौथाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्नेछन् ।