भ्रष्टाचारमा महिला संलग्नता न्यून



काठमाडौँ – समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलामथि लगाइन्छ । के यो आरोप सत्य हो त ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ महिनाको अवधिमा भ्रष्टाचारजन्य कार्यमा संलग्न महिला तथा पुरुषको लैङ्गिक तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको सामाजिक बनोट पित्तृसत्तात्मक भएजस्तै भ्रष्टाचारजन्य कार्यमा पुरुषकै रजाइँ (रजगज) रहेको तथ्याङ्कले देखाउँछ । अख्तियारका अनुसार सो अवधिको भ्रष्टाचारजन्य कार्यमा ८९ प्रतिशतभन्दा बढी पुरुष संलग्न भएको पाइएको छ भने त्यस्ता कार्यमा महिलाको सहभागिता १०।७७ प्रतिशत मात्रै छ ।

आयोगले २०७४ फागुन २ देखि २०७७ भदौ २८ गतेसम्मको तथ्याङ्कमा कुल दुई हजार ३६७ जनालाई प्रतिवादी बनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कुल ९२३ वटा मुद्दामा पुरुष दुई हजार ११२ र महिला २५५ जनालाई प्रतिवादी बनाइएको छ ।

भ्रष्टाचारजन्य कार्यमा महिलाको सङ्ख्या न्यून हुनुको कारण के हो त रु निजामतीलगायतका सेवामा महिलाको सङ्ख्या नै न्यून भएर, अवसर नै नपाएर, इमानदार भएर, डराएर, नजानेर वा मिलाएर खान सक्ने खुबी भएर हो रु

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफ्नो जग्गाको कामको सिलसिलामा मातपोत कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीले सीधै अतिरिक्त लाभको अपेक्षा गरेको घटना सुनाइन् । कार्कीको अनुभव छ, संसारभरि नै महिलाले कम भ्रष्टाचारजन्य कार्य गरेको पाइन्छ, थोरै रकम भए पनि मिलाएर खर्च गर्ने बानी हुन्छ, पुरुषजस्तो खर्चालु महिला हुँदैनन्, जुवा–तास खेल्ने, घुम्ने र फजुल खर्च गर्ने गर्दैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।