संचार गृहमा आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित



धनगढी – पाँच दिनअघि धनगढीमा संचालित दिनेश संचार गृहमै प्रवेश गरी पत्रकारमाथि सांघातिक आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन् ।

घटना भएको पाँच दिन बित्दासम्म पनि दोषीलाई पक्राउ गरिएको छैन । भदौ २६ गते समाचारको विषयलाई लिएर एक समूहले दिनेश संचार गृहमा प्रवेश गरी त्यहाँ कार्यरत पत्रकारलाई आक्रमण गरेको थियो ।

घटना लगत्तै दोषीलाई कारवाहीको माग गर्दै आएको नेपाल पत्रकार महासंघ कैलाली शाखाले घटनाको भोलिपल्ट अर्थात भदौ २७ गते स्थानीय प्रशासनलाई दोषीलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । २४ घण्टे अल्टिमेटम पछि पनि आक्रमणकारी पक्राउ नभएपछि शाखाको अगुवाईमा पत्रकारको भेलाले चरणबद्ध आन्दोलन सुरु गरेको हो ।

आन्दोलनकै क्रममा सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई घटनाका समन्धमा ध्यानाकर्षण पत्र बुझाईएको थियो । ध्यानाकर्षण बुझ्दै मुख्यमन्त्री भट्टले दिनेश सञ्चारगृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाही हुने बताए ।

सञ्चारगृहमाथि आक्रमण भएको जानकारी पाउने वित्तिकै आफूले प्रहरी, प्रशासनसँग कुराकानी गरेको उनले बताए । समाचारप्रति असन्तुष्टि भए कानूनी उपचारको बाटो खुला भए पनि सञ्चारगृहमै आक्रमण गर्नु दुःखद भएको मुख्यमन्त्री भट्टले बताए ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउदले ध्यानाकर्षण बुझाउँदै आक्रमण भएको चार दिनसम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे ।

यता, कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ । पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै सोमबार बिहान साढे ९ बजेदेखि ११ बजे सम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको थियो । आन्दोलनकै क्रममा मंगलबार सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बिहान १० देखि ११ बजे सम्म धर्नाको कार्यक्रम रहेको छ ।

‘आक्रमण भएको पाँच दिन पुगिसकेको छ’ पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष जगत साउदले भने– ‘प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न चासो नै दिएको देखिएन । प्रहरी प्रशासनको भूमिकामाथि आशंका गर्ने ठाउँ देखियो ।’ अध्यक्ष साउदले आजको धर्ना पछि बेलुकासम्म पनि आक्रमणकारीलाई पक्राउ गरिएन भने थप संघर्षका कार्यक्रमसहित अघि बढ्ने बताएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आक्रमणकारीलाई पक्राउ गर्न घटना लगत्तैदेखि प्रहरी परिचालन गरिएको बताउँछन् । उनले भने–‘घटना समन्धमा हामी निकै गम्भीर छौँ, आक्रमणकारीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका छौँ ।’