विश्वमा आज एकै दिन थपिए अहिलेसम्मकै धेरै तीन लाख बढी संक्रमित



विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थपिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन तीन लाख ७ हजार ९०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेको संख्या ५५ सय भन्दा धेरैले बढेर विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख १७ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । भारतमा आइतबार ९४ हजार भन्दा धेरै, अमेरिकामा ४५ हजार भन्दा धेरै तथा ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

डब्लुएचओका अनुसार विश्वभर कुल संक्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजार भन्दा बढीको तथा ब्राजिलमा ८७४ जनाको कोभिड–१९ का कारण ज्यान गएको हो ।
पछिल्लो समय भारतमा दैनिक ९० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् ।