सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु, निषेधाज्ञाका कारण छैन् रौनक



कैलालीः सुदूर पश्चिमेलीहरूको महान् पर्व गौरा आजदेखि सुरु भएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्यरुपमा मनाइने गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ। गौराको पहिलो दिन गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ।

केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ। आज भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा, गीग, फाग, धमारी चाचरी, देउडा लगायातका गीत÷गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन्। अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ।

त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ। सुदूर पश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ। गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन्। यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन्। त्यस्तै पुरुष महिलाहरूले ५ दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्। साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ।

यस वर्ष प्रभावित

कोरोना महामारीले गौरा यस वर्ष प्रभावित बनेको छ। सुदूरपश्चिम लगायत देशभर कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासनहरुले सामुहिक रूपमा गौरा नमनाउन आग्रह गरेका छन्। बुधबारदेखि भदौ १४ गतेसम्म जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ। यस्तै सुदूरपश्चिमका कैलाली डडेल्धुरा, बैतडी, डोटी लगायतका जिल्लाहरुमा पनि प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरिरहेका छन्। प्रशासन कार्यालयहरूले सामूहिक रूपमा मनाउँदा संक्रमण फैलिने जोखिम रहेकाले नागरिकलाई घरभित्रै गौरापर्व मनाउन आग्रह गरेका छन्।