आउनुहोस् दलालह्ररुका विरुद्ध मिलेर संघर्ष गरौं !



मोनीका नगरकोटी, युएइ । नेपालीको नियती भनौं या शासन गर्ने शासकको असक्षमताले भनौं अहिले नेपाली र परदेश पर्यायवाची शब्द जस्तै बनेको छ। लाखौं नेपालीहरु देश छोडेर परदेशमा श्रम बेच्न वाध्य छन् । सरकार रेमिटेन्सको झोला थापेर बस्छ तर श्रमिकका आँसु पुस्ने रुमाल बन्दैन। हरेक दिन राता बाकसहरु नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्छन् ।

ती राता वाकसहरुमा एउटा श्रमिकको लाससँगै बन्द भएका हुन्छन्- उसका सपना, चाहना र उसका परिवारको भविष्य ।बैदेशिक रोजगारमा मैले पनि निक्कै समय व्यतित गरिसकें । दुबईमा रहेर मैले पनि आफ्नो श्रम बेचिरहेकी छु ।

समयसँगै बैदेशिक रोजगारीमा पनि दलाल र श्रमिकमाराहरुको हालिमुहाली बढ्दो छ । मैले देखेको UAE मा हजारौं श्रमिक दलालहरुले बेच्छन् । कुवेतको अरविक साहुजीलाई घरेलु कामदार महिला प्रदर्शन गर्दै बेच्छन् ।

दलालहरुले कामदारहरुलाई दुई कौडिको भाउमा बेचिरहेका छन् । पैसा र पावरको दुरुपयोग गरेर कैयौं श्रमिकका सपना र जिन्दगी बर्बाद गरिरहेका छन् । मै हुँ भन्ने दलालहरु, अर्काको जिन्दगी बेचेर पैसा कमाउनेहरु, सुन तस्करी, हुन्डी कारोबार कर्ताहरु मानव बेचबिखनको घृणित कार्यमा दिनरात लागेका छन् ।यस्ता दलालहरुको अब सबैले भन्डाफोर गर्नुपर्छ ।

श्रमिकलाई मारेर सानसौकतको जिन्दगी जिउँने दलालहरुलाई अब माफी दिनु हुन्न । यसमा हामी सबै श्रमिकहरुले सहकार्य गरेर दलालहरुको अशली अनुहार समाजमा देखाउनु पर्छ । जागिरको वाध्यताले हामिलाई बन्दी जस्तै बनाएको छ ।

दलालहरुको विरुद्धमा बोल्नलाई अब हामिले थोरै समय निकाल्नै पर्छ । यहाँ हामी सबै श्रमिक हौं । कुनै न कुनै रुपमा पीडित छौं । तर अब पीडाका गीत गाएर मात्र हुँदैन । आफ्नो र आफूजस्तै पीडित श्रमिकको पक्षमा केही समय निकालेर लड्नै पर्छ ।

दलालहरुका जालझेलमा परेर पैसा गुमाएका र अलपत्र परेका पीडितहरुको पक्षमा हामी कामदारले आवाज उठाउनु पर्छ र एक भएर लड्नु पर्छ । भिजिट भिसामा आएका र अलपत्र परेका या अन्य जो कोहि भएपनि सहकार्यमा आउनुस् ।

म पनि मेरो दिलोज्यानले भ्याएसम्म सहयोग गर्नेछु । दलालको विरुद्ध बोल्न र लड्न म सँधै तयार छु । म कुनै संघसंस्था या कोहि दलालका पक्षमा आवद्ध छैन । म दुतावासको चम्चागिरी गर्ने हनुमान पनि हैन ।

आफ्ना समस्या लिएर म सम्म कुनै माध्यमबाट आउनुहोस् र मिलेर दलालह्ररुका विरुद्ध संघर्ष गरौं ।