सेती नदी जलविद्युत् आयोजनामा भदौदेखि पूर्ण क्षमताका साथ काम हुने



कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीकै बेलामा पनि काम भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम आगामी भदौदेखि पूर्ण क्षमताका साथ सञ्चालन हुनेभएको छ ।

अगामी भदौ १५ देखि थप जनशक्ति, मेशिन तथा उपकरण प्रयोग गरेर निर्धारित समयभित्र आयोजना सक्ने गरी दुई सिफ्टमा सिभिलतर्फको काम तीव्रताका साथ अघि बढाइने आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा प्रालिले जनाएको छ ।

कास्कीको माछापुच्छ गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखि काम शुरु भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ड’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ को खन्ने काम जारी रहेको छ । गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।

विभिन्न बैंक तथा वित्तिय संस्थाको रु तीन अर्ब ५० करोड तथा कम्पनीको स्वपूँजी रु एक अर्ब ५० करोड गरी रु पाँच अर्ब लागतमा आयोजना शुरु गरिएको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । स्थानीयवासी ३२७ जनाले आयोजनामा लगानी गरेका छन् । “लकडाउनले अरु आयोजना प्रभावित हुँदासमेत यस आयोजना अघि बढाउन सफल भयौँ, स्थानीयवासी, जनप्रतिनिधि तथा कम्पनीका व्यवस्थापक आयोजना सफल बनाउन खटिइरहनुभएको छ ।” उहाँले भन्नुभयो, “आगामी भदौ १५ देखि थप ३५० मजदूर परिचालन गरेर आयोजनाको पूर्ण क्षमतामा काम शुरु गर्ने योजनामा छौँ ।”

उहाँका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), जेनेरेशन लाइसेन्स पास भएको तथा आयोजनालाई आवश्यक पर्ने निजी साढे तीन हेक्टर जमिनमध्ये ९० प्रतिशत प्राप्त भइसकेको र सरकारी १३ हेक्टर जमिन लिने प्रक्रियासमेत शुरु भइसकेको छ ।

अध्यक्ष पोखरेलले जेनेरेशन लाइसेन्स प्राप्त हुनुअघिनै आयोजनाको पाँच प्रतिशत हाराहारीमा काम सम्पन्न भएकाले समेत निर्धारित समय भन्दाअघिनै आयोजना सम्पन्न भएर विद्युत् उत्पादन शुरु हुनेछ ।