महासय, ‘मलाई मेरो शरीरसँग खेल्ने पुरुष चाहिएको होइन’!



सुजता लिम्बू । सामाजिक, धार्मिक अथवा कानूनी रुपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध हो विवाह ।

विवाहले दुई परिवारबीच प्रगाढ नयाँ नाता सम्बन्ध जोड्छ । विवाह कै कुरा गरीरहँदा, गत ०७६ फागुनमा सामाजिक सञ्जालदेखि मिडियासम्मले कभरेज गरेका थिए अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबिचको बैवाहिक सम्बन्ध ! कयैनले उडाइरहेका थिए उनीहरुको सम्बन्धको मजाक । ट्रोल बनेका थिए फेसबुकमा ।

त्यो समय प्रियंका र आयुष्मानबीचको उमेर भिन्नतालाई लिएर शुभकामना दिनेको भन्दा नकारात्मक टिप्पणी गर्नेको ओइरो लागेको थियो । कतिले उनीहरुबीचको उमेरका विषयलाई लिएर मजाक उडाएका थिए त, कतिले प्रियंकाको दोस्रो र आयुष्मानको पहिलो विवाह भनेर खिल्ली पनि उडाएका छन् । के प्रेममा पुरूषकै उमेर बढी हुनैपर्छ ? कम उमेरका पुरूषसँग महिलाले प्रेम गर्नै हुँदैन ?

अतीतलाई भुलेर वर्तमानसँग रमाउन खोज्नु गलत हो ? के डिभोर्सी महिलालाई खुशी हुने, नयाँ सम्बन्ध जोड्ने अधिकार छैन ? के हरेक सम्बन्ध टुट्नुका पछाडि नारी मात्रै दोषी हुन्छन् ?

मलाई एउटा कविताको हरफहरु याद आयो‘,

‘लाएर कहिल्यै अघाउन्न रहेछ प्रेम

लेखेर कहिल्यै सकिन्न रहेछ प्रेम

जोखेर कहिल्यै जोखिन्न रहेछ प्रेम

मारेर कहिल्यै मासिन्न रहेछ प्रेम’

कवियत्री तथा साहित्यकार उषा शेरचनद्धारा लिखित कविताको केहि अंश हुन् यी । सायद यी नै कविताका हरफ पनि काफि छन् प्रेम बुझ्नका लागि । अब भन्नुहोस् के डिभोर्स भएका महिलाको मनै हुँदैन ? कुनै चाहना हुँदैन ? उनीहरुलाई चोखो प्रेम पाउने, गर्ने अधिकार छैन र ?

जब एउटी महिलाको श्रीमानसँग सम्बन्ध विच्छेद हुन्छ, उनी समाजको घेराबन्दीमा पर्छिन् । कुनै परपुरुषसँग बोल्नु हुँदैन, समाजको खिसिटिउरीसँग आँशु निल्नुपर्छ । तर त्यो पुरुष भने नयाँ जीवन साथीको खोजीमा हुन्छ । कुनै प्रश्न सोधिन्छ । न उसको चासो राखिन्छ ।

जति नारी समानताको कुरा गरेपनि समाज परिवर्तन भएको छैन । समाज अझै पुरुषवादी छ । नायिका प्रियंकाको पहिलो श्रीमानले पनि दोस्रो विवाह गरिसकेका छन् । उनको त सायद कसैले ट्रोल पनि बनाएनन् होला ।

देखिएन पनि सामाजिक सञ्जालमा । तर प्रियंकालाई भने छाडिएन । एउटी नारीलाई डिभोर्स रहर हुँदैन, बाध्यता हुन्छ । जब सम्बन्धमा एक अर्काको सम्मान हुँदैन, एकले अर्कालाई रुचाइँदैन त्यहाँ अशान्तिले पारिवारिक धरोहर डगमगाउँछ । त्यहीँबाट क्रमशः सम्बन्धका ईँट्टा एकपछि अर्को गर्दै भत्किँदै जान्छ । नचाहँदा नचाहँदै भताभुङ्ग हुन्छ घर–गृहस्थी ।

मेरै भोगाईको कुरा गरौँ न । सामाजिक सञ्जालमा अनेकौँ प्रस्ताव राखी स्वार्थले मसँग जोडिन चाहन्छन् । सिलसिलेवार प्रश्नका माध्यमबाट तहतह उघ्रिने गरी मेरो सोधिखोजी हुन्छ । धेरैले अविवाहित ठान्छन् मलाई । कतिले सामाजिक सञ्जालमार्फत् प्रेम प्रस्ताव पनि राख्छन् । कतिले विवाहको प्रस्ताव पनि । सतही चिनाजानीको भरमा कतिले सँगै मर्ने बाँच्ने कसम खान पनि पछि पर्दैनन् ।

जब मेरो यथार्थ प्रष्ट हुन्छ कि म एक विछेद्को दौरबाट गुज्रिएकी महिला हुँ । अनि प्रेम प्रस्ताव मैँले अस्विकार गर्नुभन्दा पहिले प्रस्ताव राख्ने आफैँ टाढा हुन्छन् म बाट । अनि सिलस्वभावको मुकुन्डो ओडेकाहरुले नधकाई भन्दिन्छन् ‘तिमिलाई बिवाह गरे भने त परिवार, समाजलाई के जवाफ दिनु ? अनि छिमेकमा आफ्ना, आफन्तमा कुरा काट्नेको पात्र बनिने रैछु ।

म सोचमग्न हुन्छु । ती पुरुषले परिवारलाई दिने जवाफ मैँले मेरो परिवारलाई दिनुपर्दैन र ? समाजले उसलाई सोध्ने प्रश्न मलाई सोध्दैन र ? मेरा परिवारको पनि त समाजमा आफ्नै मान मर्यादा छ । मेरो परिवार पनि त उस्तै समाजमा बस्छन्, जहाँ उसको परिवार बस्छन् ।

म पनि मानव हुँ । मेरा पनि आफ्नै चाहना छन् । अनेकन रहर छन् । तर समाजले मेरा रहरमा जहर घोलिदिन्छ । नधकाई मलाई यौन प्यास मेटाउने प्रस्ताव आउँछ, ती प्रेम गर्छु भन्नेहरुबाट ।

महासय, मलाई मेरो शरीरसँग खेल्ने पुरुष चाहिएको होइन । म यौनको प्यासी छैन । मात्र एक असल जीवनसाथी चाहन्छु । जो मेरो हरेक सुखमा मसँगै हाँसिदेओस् । दुःखमा मसँगै रोइदेओस् अथवा मलाई सहानुभूति देओस् ।

मलाई मेरा आत्मा, भावनालाई सम्मान गर्ने साथी भए पुग्छ । भीडमा छु तर एक्लै भएको महशुष हुन्छ । प्रश्न अनुत्तरित छन्, जवाफ मौन छ, साँच्चै संसार पापी अनि स्वार्थी रहेछ‘।

लिम्बू मकालु खबरमा कार्यरत पत्रकार हुन् ।