काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा समूह (नेपाल एजुकेशन क्लस्टर) का प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा सम्पन्न छलफलमा बाढी प्रभावित विद्यालयको पुनःस्थापना, विद्यार्थीको पढाइलाई निरन्तरता, आवश्यक सहयोग तथा स्रोत परिचालन र दीर्घकालीन पुनःनिर्माणबारे छलफल भएको हो ।
छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका साथै विद्यार्थीको अध्ययन निरन्तरताका लागि सरकारसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनीहरूले प्रभावित बालबालिकाको शिक्षा र बसोबास व्यवस्थापनमा समेत सहयोग गर्ने बताएका छन् । साथै, उनीहरुले तत्कालिक र दीर्घकालीन सहयोगका लागि आफूहरु लागिरहेको र आवश्यक स्रोत व्यवस्थापनका कामहरुमा पनि जुटाइरहेको जानकारी दिए ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका विद्यालयहरुको पुनःनिर्माणका सन्दर्भमा हामीले आवाशीय सुविधा र विद्यालय बस सुविधासहितका ठूला विद्यालयको अवधारणा अनुसार अगाडि बढ्दा उपयुक्त हुनसक्ने बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीचन्द्र भट्टराईले विकास साझेदारबाट हुने सहयोगमा दोहोरोपन नआउने गरी सरकारी निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
मन्त्रालयले यकिन तथ्यांकका आधारमा राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ ।
शिक्षा विभागले उपलब्ध गराएको हालसम्मको तथ्याङ्क अनुसार हालै आएको बाढीका कारण विद्यार्थी र शिक्षकसमेत ठूलो संख्यामा प्रभावित भएका छन् ।
बाढीबाट २५१ विद्यार्थी तथा शिक्षक प्रभावित भएका छन् ।विभागका निर्देशक निलकन्ठ ढकालले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार २१७ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन रहेको उल्लेख छ ।
त्यस्तै, १७ विद्यार्थी र एक शिक्षकलाई बाढीले बगाएको विवरणमा उल्लेख गरिएको छ ।
एक विद्यार्थीको अवस्थाबारे भने विवरण खुल्न नसकेको जनाइएको छ ।बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक संस्थासँग सम्बन्धित व्यक्तिहरू छन्।
बाढीका कारण शैक्षिक क्षेत्र प्रभावित भएको देखिएको छ ।बाढीले शैक्षिक संस्थाका भौतिक संरचनामा समेत क्षति पु¥याएको छ ।
प्राप्त विवरणमा सामुदायिक तथा संस्थागत विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा पूर्ण र आंशिक क्षति भएको उल्लेख छ ।
प्रारम्भिक विवरणअनुसार केही सामुदायिक तथा संस्थागत शैक्षिक संस्थामा पूर्ण क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको छ ।
तर जिल्लागत रूपमा कुन संस्थामा कति क्षति भयो भन्ने विस्तृत विवरण भने अझै संकलन तथा अद्यावधिक भइरहेको विभागले जनाएको छ ।
बाढीबाट विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थामाथि परेको क्षतिको यकिन विवरण संकलन गरी राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाइने जनाइएको छ ।