काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत गराउँदै सामाजिक योगदानमा सहभागी गराउनुपर्ने बताएका छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै उनले महिलालाई अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने बताए ।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिनुपर्ने बताए ।
संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानलाई व्यवहारमा उतार्न तथा सामाजिक चेतना फैलाउन यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन्, “महिला अधिकारको प्रत्याभूतिबिना समाजको समान विकास सम्भव छैन, शिक्षा, स्वास्थ्य, सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, कानुनी सुधार र नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा सबै क्षेत्रबीच सहकार्य अपरिहार्य छ ।”