काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तिवारीलाई १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपियाँ बिगो कायम गरेको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले विहिबार विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो ।
आयोगले तिवारीले सार्वजनिक पद धारण गरेको अवधि २०४४ साल भदौ १९ गतेदेखि काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त भएको मिति २०७८ वैशाख १ गते सम्मको अवधिमा आम्दानी गरेको र खर्चको विवरणको हिसाब गरेको थियो ।
सो क्रममा तिवारीले विभिन्न स्रोतबाट १४ करोड ५१ लख ९१ हजार रुपियाँ बैधानिक आम्दानी गरेको देखिएको थियो ।
तर आयोगको अनुसन्धानको क्रममा तिवारीको आम्दानी २५ करोड ६ लाख ८७ हजार रुपियाँ देखिएको छ । आम्दानी र खर्च तथा लगानी अनुपातको हिसाब गर्दा १० करोड ५४ लाख पन्चानब्बे हजार रुपियाँको स्रोत पुष्टि नभएको देखिएको छ ।
आयोगले तिवारीलाई सोही रकम बराबर विगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारावाहीको माग गरेको छ ।