बारामा कोरोना संक्रमणबाट थप एक युवतीको मृत्यु



कोरोना भाइरस संक्रमणबाट बारामा एक युवतीको मृत्यु भएको छ। शुक्रबार साँझ मृत्यु भएकी परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया शवनम खातुनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो।

उनको मृत्युअघि नै थ्रोट स्वाब संकलन गरिएको थियो। स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

विशेष कोभिड अस्पताल गण्डकमा बिहीबार भर्ना भएकी ती युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार वीरगन्जको नारायणी अस्पताल र पछि थप उपचारका लागि वीरगन्ज कै हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ आएपछि स्वाब संकलन गरी नारायणी प्रयोगशालामा पठाइएको र बिरामीलाई कोभिड अस्पताल गण्डकमा पठाइएको हेल्थ केयर हस्पिटलका डा. अवुलेश अन्सारीले बताए।