देशभरको मौसम सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना



काठमाडौँ – देशभरको मौसम शनिबार सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेकाले मौसम बदली भएको हो । अहिले देशभर सामान्य बदली रही अहिले थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।