नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण थला परेको अर्थतन्त्र उकास्न बजेटमा राहत कार्यक्रम खासै नआएकोले उद्योगी व्यवसायीले मौद्रिक नीतिबाट ठूलो आशा गरेका छन् ।

उद्योगी व्यवसायीले पुनरकर्जा कोष बृद्धि गर्ने र त्यसको सीमा बढाउने, कर्जा तिर्न नसकेका ऋणीको लागि व्याज छुट तथा किस्ता र व्याज तिर्ने समय बढाउने लगायतका राहत प्याकेजको अपेक्षा मौद्रिक नीतिसँग गरेका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएपछिको पहिलो मौद्रिक नीति भएकोले पनि धेरैले चासोका साथ हेरेका छन् । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अपेक्षा गरिएभन्दा बढी राहत प्याकेज ल्याउने यसअघि नै सार्वजनिक घोषणा गर्नुभएको थियो ।

उत्पादन बृद्धि, रोजगारी सिर्जना र ठप्प भएको आपूर्ति प्रणालीलाई ऋण दिन पनि मौद्रिक नीतिले सहयोग गर्ने अपेक्षा गरिएको छ । यस्तै, सेयर धितो कर्जाको सीमा अहिलेको ६५ प्रतिशतबाट बढाउनु पर्ने आवाज पुँजी बजारसँग सम्बन्धित सरोकारवालाले उठाएका छन् ।

कोभिड–१९ संक्रमण सन्त्रासपछि वाणिज्य बैंकहरु पनि एकापसमा मर्जर र एक्वीजीसनको लागि तयार भएका छन् । नेपाल राष्ट्र बैंकले विगतदेखि नै मर्जर गराएर वाणिज्य बैंकहरुको संख्या घटाउन चाहेको भएपनि बैंकहरु तयार नहुँदा सम्भव भएको थिएन । यसपालीको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको मर्जरका लागि विशेष प्याकेज ल्याउने अपेक्षा बैंकर्सको छ ।

त्यसैगरी कोभिडबाट प्रभावित होटल तथा पर्यटन व्यवसाय, निर्माण क्षेत्र, ब्यापारिक भवन, कृषि क्षेत्र, सार्वजनिक यातायात, ट्याक्सी, साना तथा मझौला, लघु उद्यमका लागि विषेश व्याकेज बनाइएको श्रोतले जनाएको छ । त्यसैगरी ऋण तिर्ने भाका सार्नुका साथै कतिपय अवस्थामा पुनर्संरचनाको नीति लिइएको छ। पर्यटनलाई सहुलियतपूर्ण ऋणका साथै पुनर्कर्जाबाट पनि सहयोग गरिने नीतिमा उल्लेख छ।