राष्ट्रपतिलाई अनुरोध: ‘मदन भण्डारीलाई सम्झनुहोस्’



राधा पोखरेल । नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिएँ । अहिले पनि गर्व नै गरिरहेकी छु । सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो । राष्ट्रपति राज्यकै सर्वोच्च पद हो ।

राष्ट्रपति स्वयं विलासी र आदर्शहीन भए भने नागरिकले पनि त्यही कुरा अनुशरण गर्दै जान्छ । जुनबेला देशका सबै नागरिक सुखी र खुसी हुनेछन्, त्यसबेला स्वतः देशको इज्जत सगरमाथाको शिखरसरी चुलिनेछ ।

जनतालाई निरपेक्ष गरिबीको रेखामुनि भोक भोकै राखेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू करोड होइन, अर्बकै गाडी चढेर हिँडे पनि देशको इज्जत रहँदैन। सम्माननीय राष्ट्रपतिज्यू ! खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका हुन्छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो ।

सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन । यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ ।

छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम अझै पनि रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन। जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका हुन्छौं । बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं ।

यी ‘महान काम” कहिले भएको थियो महामहिमयज्यू रु रिसानी माफ होस्। यस्तो बेलामा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्नु पर्ने होइन र ?

आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । सम्झेर अहिले पनि मुटु काँपी रहेको हुन्छ। ऐठन पर्दा पनि कहिल्यै यस्तो भएको थिएन ।

अन्त्यमा: सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई उच्च सम्मानसहित मेरो हार्दिक अनुरोध छ,”हजुरले कुनै पनि निर्णय लिनुभन्दा पहिले आफ्नो देश र जनतालाई केन्द्रमा राख्नुहोस् । हजारौं शहीदहरूको बलिदान, हजुरकै जीवनसाथी, नेपाली जनताका प्यारा नेता मदन भण्डारीलाई सम्झनुहोस् ।”

लेखक पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष हुन् ।