लकडाउनमा पनि ठुलो संख्यामा उपत्यका कसरि भित्रिए नागरिक ?



काठमाडौं : कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौं उपत्यकामा ३८ हजार मानिस भित्रिएको पाइएको छ। हवाइ मार्ग बन्द भएपछि स्थलमार्गबाट त्यतिका संख्यामा मानिसहरु उपत्यका प्रवेश गरेका हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अतिआवश्यक सवारी साधनबाट चालकसहित सहचालक पनि भित्रिएका छन्। खाद्यान्‍न र अन्य सामान बोकेका सवारी साधनबाट मानिसहरु दैनिकजसो आइरहेको ट्राफिक महाशाखाका प्रमुख भीम ढकालले बताए। लकडाउन सुरु भएपछि उपत्यकामा अहिले सम्म १३ हजार ३ सय ८४ सवारी साधन प्रवेश गरेको उनले जानकारी दिए। उनका अनुसार यात्रु बोकेर कुनै पनि सवारी साधन नआएको उनको भनाइ छ।

एम्बुलेन्समा र  खाद्य सामग्रीका साधनमा अहिले पनि दैनिक १ हजार मानिस उपत्यका प्रवेश गरिरहेको उनले बताए। उनले भने,’ एम्बुलेन्समा बिरामीका आफन्तहरु हुन्छन। खाद्य सामग्रीका साधनमा सवारी चालक हुन्छन्।’

६५ हजार  बाहिरिए बन्दाबन्दी भएपछि उपत्यकाको विभिन्‍न नाकाबाट ६५ हजार ५ सय ६४ मानिस बाहिरिएको उनले बताए। भक्तपुर नाका, फर्पिङ र नागढुङ्गाबाट त्यतिका संख्यामा मानिस बाहिरिएको उनले जानकारी दिए।

१६ हजार ५ सय सवारी साधन यस अवधिमा बाहिरीएक‍ा छन्। तराई र उपत्यकाको आसपासका जिल्लाबाट खाद्य सामग्रीको सवारी साधन दैनिक ५ सय प्रवेश गरिरहेका छन्। तिनै साधनमा मानिस पनि हजारको हाराहारीमा भित्रिरहेको उनले जानकारी दिए। नागढुङ्गा नाकाबाट सबैभन्दा बढी मानिस र सवारी साधन प्रवेश गरिरहेका छन्।

तराईका जिल्लाबाट बढी आउने भएकोले पनि नागढुङ्गा नाकाबाट बढी प्रवेश गरेको ढकालले बताए। भक्तपुर नाकाबाट कम सवारी साधन र मानिस बाहिरिएको उनको भनाइ छ। नागढुङ्गाबाट नाकाबाट प्रवेश गरेका चालक र सहचालकको थर्मल गनले तापक्रम परीक्षण गरिरहेको छ। चन्द्रागिरी नगरपालिकाले उपलब्ध गराएको एकजना अहेबको सहायताले ज्वरो परीक्षण गरिरहेको उनले बताए। फर्पिङ नाकामा पनि समय-समयमा परीक्षण भइरहेको छ।