सरस्वतीको सहीद स्मारक बी डिभिजनमा घटुवा



काठमाडौं। सरस्वती युवा क्लब च्यासल युथ क्लबसँग पराजित भएसँगै सहीद स्मारक ए डिभिजन लिग फुटलबबाट बी डिभिजनमा घटुवा भएको छ। हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपिएफ) को खेल मैदानमा आज भएको १२औँ चरणको खेलमा सरस्वती च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै बी डिभिजन लिगमा घटुवा भएको हो।

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल खेल्न बाँकी छँदै बी डिभिजनमा घटुवा भएको हो। सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो। क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो। यसअघि विसं २०६३ मा पहिलो पटक ’ए’ डिभिजन लिग खेलेको सरस्वती सोही वर्ष बी डिभिजनमा घटुवा भएको थियो। त्यसयता ए डिभिजनमा रहेर खेलिरहेको थियो।

च्यासलको जितमा जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एकएक गोल गरे। सरस्वतीका लागि भने काजिम बुसारीले एक गोल फर्काए। खेलको १८औँ मिनेटमा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ६६औँ मिनेटमा वाकिनोले गोल गर्दै च्यासललाई २–० को अग्रता दिलाए।त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सरस्वतीका बुसारीले एक गोल फर्काएपछि २–१ को स्थितिमा पुगेको हो। खेलको म्यान अफ दि म्याच च्यासलका नाकामुरा चुनिए।

च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अङ्क जोड्यो। अब सरस्वतीले लिगको अन्तिम खेलमा सङ्कटा क्लबसँग खेल्नेछ। सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अङ्क जोडेर लिगको नवौँ स्थानमा उक्लिएको छ।