मुना कार्की हत्या प्रकरण : सानेपास्थित घरमा यसरी भएको थियो हत्या



पूर्वसचिव अर्जुन कार्कीका घरेलू कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन्।

ललितपुर उपमहानगरपालिका-२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमां डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन्। कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएर मृत अवस्थामा फेला परेका थिए।

घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो। घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बीभत्स दृश्य देखेर चिच्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।

प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो। ‘घटनाबारे हल्लाखल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना महिला चिकित्साकमी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आशंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्‍याउनुअघि नै मृत्यु भइसकेको बताएको छ ।

कान्तिपुर दैनिकमा खबर छ ।