कांग्रेस संसदीय दलको बैठक आज, के होला संसदको गतिरोध ?



काठमाडौँ । अख्तियारले चलाएको मुद्धाका विषयलाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले आज संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसदमा जारी अवरोध र अबलम्बन गर्नुपर्ने कदमका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बिहान साढे १० बजे बैठक बोलाइएको जनाएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । आज बैठक अवरुद्ध गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।कांग्रेसले यसअघि गत बिहीबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरिसकेको छ ।

संसदीय दलका उपनेतासमेत रहेका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै कांग्रेस असन्तुष्ट छ ।