सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज तीनवटा खेल



काठमाडौं : सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज तीनवटा खेल हुँदैछन्। आजदेखि १२ औँ चरणका खेल शुरु भएको लीगमा केहिबेरमा विभागीय टोली एपीएफ र फ्रेन्ड्स क्लब  आमने सामने हुँदै छन्।  ११ खेल खेलेको एपीएफले एक मात्र जीत निकालेको छ। उसको पाँच अंक रहेको छ। रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको एपीएफले आजको खेल जित्नै  पर्ने हुन्छ।

समान खेल खेलेको फ्रेण्डस् क्लबको भने लीग तालिकामा १४ अंक रहेको छ।  त्यस्तै आजै हुने अर्को खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लब भिड्दैछन्। यी दुई टीमको खेल मध्यान्ह सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा नै हुनेछ।

सरस्वती लीगमा सबैभन्दा कमजोर टोली रहेको छ।अंक तालिकाको पुछारमा रहेको सरस्वतीले पनि एक मात्र खेल जीतेको छ। उसको ११ खेलबाट ४ अंक रहेको छ। च्यासल क्लब भने १२ अंकका साथ दशौं स्थानमा रहेको छ।

आजै हुने अर्को खेल अपरान्ह तीन बजे उपाधि होडमा रहेको मच्छिन्द्र क्लब र संकटा भिड्ने छन्।११ खेलबाट ८ खेलमा जीत र २ खेलमा बराबरीसँगै मच्छिन्द्र अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। उसको २५ अंक रहेको छ। २६ अंक बनाएको आर्मीलाई उसले पछ्छाइरहेको छ। संकटा भने ११ खेलबाट चार खेलमा जीत ३ खेलमा बराबरी गर्दै १५ अंकका साथ सातौं स्थानमा छ।

संकटा भने अन्तिम ६ रहन जीत निकाल्ने दाउमा रहेको छ। आजको खेल जिते मच्छिन्द्रले २८ अंक बनाउँदै लीग तालिकाको शीर्ष स्थानमा रहने छ। उसले अर्को खेल फागुन ३ गते आर्मीसँग भिड्ने छ। त्यो खेलले ए डिभिजनमा नयाँ च्याम्पियन पाउने छ।