‘अख्तियार, ओली आयोगका रुपमा रुपान्तरण भयो’

प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय


काठमाडौँ – नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले आज पनि संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधको कमद भन्दै बिहीबार सदन चल्न दिएको थिएन । आज पनि बैठक चल्न नदिने कांग्रेसले निर्णय गरेको हो । संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताए ।

‘कांग्रेसका नेताहरुलाई छानीछानी मुद्दा लगाउने अख्यितारको प्रतिशोधपूर्ण कदम हो । यसका विरद्ध कांग्रेसले कडा ढंगले प्रतिवाद गर्छ । आजको संसद बैठक पनि अवरुद्ध पार्नुस्, अरु माध्यमबाट पनि विरोध गर्नुहोस् ’ देउवाले बैठकमा निर्देशन दिए ।

बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए । उनले अख्तियारलाई ओली आयोग बनाइएको बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ ।

ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ । त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए । कांग्रेसले सदन अवरोधमा साथ दिन राजपा र समाजवादी पार्टीलाई पनि औपचारिक अनौपचारिक रुपमा आग्रह गरेको छ । संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ ।