सिटीइभीटीले प्राविधिक शिक्षा प्रवर्द्धन गर्न जनचेतना अभियान सुरु गर्दै



काठमाडौँ– ‘सीप हुन्छ हातमा रोजगारी साथमा’ भन्ने मूल नाराका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं रोजगारीका अवसर प्रवर्द्धनका लागि जनचेतना अभियान सुरु गरेको छ।

विद्यार्थी, प्रशिक्षार्थी र समुदाय, उद्योग तथा वाणिज्य क्षेत्रलाई केन्द्रविन्दुमा राखेर अभियानले प्राविधिक तथा व्यावसायिक शिक्षा एंव तालिमको महत्वको प्रचार–प्रसार गर्ने सिटिइभिटीले जनाएकाे छ।

यस अभियानमा सिटिइभिटीका तीन प्राविधिक शिक्षालय, वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट, सपही, धनुषा (निर्माण व्यवसाय), पोखरा टेक्निकल स्कुल पोखरा कास्की (प्रर्यटन) र टिकापुर पोलिटेक्निकल इन्स्टिच्यूट, टिकापुर कैलाली (कृषि) मा सञ्चालन हुँदैछ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले आजको आवश्यकता उत्पादनमुखि प्राविधिक शिक्षा भएको बताए। उनले उक्त अभियानको सुरुवात माघ २२ गते काठमाडौँस्थित बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट गरिने जानकारी दिए। सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायलाई लक्षित गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई भविष्यका बारेमा मार्ग निर्देशन दिने, विभिन्न उद्योगमा विद्यार्थीहरुको अध्ययन भ्रमण, स्थानीय उद्योग वाणिज्य महासंघको सहकार्यमा रोजगार मेला, विविध सामुदायिक अभियान, लक्षित समूहका युवा, उनीहरुका परिवारका सदस्य तथा अभिभावकलाई प्रावधिक तथा व्यावसायिक शिक्षा एंव तालिमका लाभका बारेमा सूचना प्रवाह गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा रोजगारदाता काउन्सिलका उपाध्यक्ष भरत आचार्यले जनचेतना कार्यक्रम प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रवर्द्धन तथा रोजगारदाताहरुको सहकार्य गर्ने साझा मञ्च भएको बताए।

उनले रोजगारदाता तथा प्रदर्शन नेपालका तीन मुख्य आर्थिक क्षेत्र कृषि, निर्माण व्यवसाय र पर्यटनका लागि आवश्यक सीपको जानकारी दिने मञ्चका रुपमा तयार गरिएको बताए। यस्तै नेपालका लागि युरोपेली राजदूत भेरोनिका कोडीले जनचेतना कार्यक्रमले विद्यालयका विद्यार्थी, समुदाय तथा रोजगारदातालाई एकै ठाउँमा ल्याए प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको विस्तारमा उत्प्रेरण सिर्जना हुने र भविष्यमा सरकारको रोजगार उन्मुख योजनामा टेवा पुग्ने बताए।

राष्ट्रिय सुरुवातपछि माघ २६ मा जनकपुर, २९ मा पोखरा र फागुन ४ गते टिकापुरमा सुरु गरिने आयोजकले जानकारी दिएको छ।