मोदीले दिए पाकिस्तानलाई हराउन १०/१२ दिन पनि नलाग्ने चेतावनी



एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँग तीन–तीन युद्ध हारिसकेको पाकिस्तानलाई हराउन भारतलाई १०/१२ दिन पनि नलाग्ने बताएका छन्। मंगलबार राष्ट्रिय क्याडेट कप्स (एनसीसी)को र्‍यालीलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन्।

उनले भने, ‘हाम्रो छिमेकी देशले हामीसँग तीन–तीन युद्ध हारिसकेको छ। हाम्रो सेनालाई उसलाई हराउनको लागि १०/१२ दिन पनि लाग्दैन। ऊ दशाकौँ देखि हामीसँग छद्म रुपमा लडिरहेको छ। जसमा हजारौँ नागरिक र सैनिक जवानको ज्यान गइसकेको छ।’

उक्त सम्बोधनमा मोदीले जम्मु–कश्मिरको स्वायत्त राज्यको विशेषाधिकार खारेज गरिएको विषयमा समेत बोलेका छन्। उनले भने,‘जम्मु–कश्मिरमा अनुच्छेद ३७० अस्थायी थियो। यस कारण हामीले त्यसलाई हटायौँ। कश्मिरमा केही व्यक्तिले यही विषयमाथि राजनीति गरिरहे, राष्ट्रिय झण्डाको अपमान भइरह्यो। ७० वर्षपछि कश्मिरबाट अनुच्छेद ३७० हटाइएको छ, यो हाम्रो दायीत्व हो।’

पाकिस्तानले अहिलेसम्म भारतसँग कुनैपनि युद्ध नजितेको भन्दै मोदीले पाकिस्तानले बम विष्फोट र आतंकवादीमार्फत हमला गरिरहेको आरोप लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।