मुख्यमन्त्री भन्छन “प्रदेश दुईमा धेरै भ्रष्टाचार देखाउनु सिंहदरवारको पुर्वाग्रह हो”



प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सिंहदरवारको विरासतले दुरासयपूर्ण भाव राखेर प्रदेश २ मा बढी भ्रष्टाचार देखिएको आरोप लगाउनुभएको छ । उहाँले आफ्नो प्रदेशमाभन्दा अरु प्रदेशमा बढी भ्रष्टाचार भइरहेको दावी गर्दै प्रदेश २ को भ्रष्टाचार सिंहदरवारको पुर्वाग्रहमा देखाइएको दावी गर्नुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश २ मा रहेका प्रदेश सरकारसहित १ सय ३६ वाट स्थानीय सरकारमा भ्रष्टाचार भएको भए जनप्रतिनिधिबाट थोरै र सिंहदरवारले पठाएका कर्मचारीहरुबाट धेरै भएको नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । उहाँले अख्तियारले समेत प्रदेश २ मा दुरासय राखेको आरोप लगाउनुभयो ।
मुख्यमन्त्री राउतले सिंहदरवारमा भ्रष्टाचारको विरासत थामेर बसेका कर्मचारी छानेर यस प्रदेशमा पठाएकाले उनिहरुले हस्ताक्षर गर्दा भ्रष्टाचारको विउ रोप्ने गरेको भन्दै जनप्रतिनिधिबाट अरु प्रदेशमा जस्ता ठूला भ्रष्टाचारका काण्ड प्रदेश २ मा नभएको दावी गर्नभयो ।
राउतले भन्नुभयो, “अख्तियारको तथ्यांक गलत छ । कुनै विषयमा उजुरी पर्दैमा भ्रष्टाचार भन्न मिल्दैन । प्रदेश २ का १ सय ३६ सरकारको नेतृत्व गरेका जनप्रतिनिधिले कुनैपनि योजना वा टेण्डरमा हस्ताक्षर गर्दैनन् । हस्ताक्षर गर्ने कर्मचारी हुन । कर्मचारीले सिंहदरवारबाटै भ्रष्टाचारको मनस्थिति बोकेर प्रदेशमा आएका छन् ।”
अरु प्रदेशमा जस्तो मन्त्रीपरिषदको निर्णयबाटै भएका ठूला भ्रष्टाचारका प्रकरण प्रदेश २ मा देखाउन चुनौती दिदै मुख्यमन्त्री राउतले सिंहदरवारमा दुइवर्षको विचमा भएका भ्रष्टाचारमा के ग¥यौँ भन्दै प्रश्न गर्नुभयो । उहाँले सिंहदरवारमा बसेर बालुवाटार बेच्नेहरु, गोकर्ण रिर्सोट बेच्नेहरुका विषयमा पनि भ्रष्टाचार छानविन गर्ने निकायका प्रतिवेदनहरु बोल्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश २ मा भ्रष्टाचार नै नभएको होइन, प्रदेश सरकार र स्थानीय तहहरुमा पनि केहि भ्रष्टाचार भएको स्वीकार गर्दै सवैभन्दा बढी भ्रष्टाचार प्रदेश २ मा छ भनेर देखाउनु यो सरकार प्रति दुरासय राखेर नै गरिएको ठोकुवा गर्नुभयो ।
राउतले प्रदेश २ मा भ्रष्टाचार हुन थाल्यो भन्ने कुरा बाहिर आउन थालेको लगत्तै आफुले अख्तियार प्रमुख,अर्थमन्त्री, योजना आयोगका उपध्यक्ष लगायत १३६ सरकारका प्रमुखहरुलाई राखेर शुसान र पारिदर्शिताको तालिम समेत दिन लगाएको दावी गर्नुभयो