कांग्रेस विवाद समाधान तर्फ: देउवा, पौडेल, सिटौलाबीच भयो छलफल



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो ।

आइतवार साझ देउवा निवास बूढानिलकण्ठमा नेताद्धयबीच भएको छलफलपछि पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति जुटेको छ । देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सभापति, वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलाबीचको छलफलले पार्टीमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरे । बूढानिलकण्ठमा आइतवार साँझदेखि शुरु भएको छलफल दुई घन्टा भन्दा लामो समय चलेको थियो । बैठकले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसमा विगत केही महिनादेखिको विवाद उग्रबन्दै गएको थियो । पार्टी सभापति देउवाले बहुमतको आधारमा पेलेर अघि बढेको र आफू अनुकुल निर्णय गर्दै अघि बढेको आरोप वरिष्ठ नेता पौडेल र सिटौला पक्षले लगाउँदै आएको छ ।

पुस ११ गते असन्तुष्ट पक्षका नेताहरु उनुपस्थित केन्द्रीय कार्यसमितिको बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि गर्ने, पार्टीमा रहेका विभागको संख्या बढाएर ४७ पुर्या‍उने, तरुण दलको म्याद थप गर्ने लगायतका निर्णय गरेपछि समस्या थप बढेको थियो ।