उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि तराईमा कुहिरो र हुस्सु



काठमाडौँ – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ । पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हट्ने छ ।

तराईका क्षेत्रमा भने कुहिरो तथा हुस्सु हट्नका लागि केही समय लाग्ने मौसमविदले बताएका छन् । सोमबार दिनभर देशका पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । तर तराईका क्षेत्रमा भने दिउँसो पनि हुस्सु र कुहिरो कायम रहने सम्भावना छ ।

सोमबार राति भने मौसम बदली हुने सम्भावना छ । राति पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

पश्चिम पहाडका एक–दुई स्थानमा राति हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।