रोशनीको स्वास्थ्यजाँच गर्ने डाक्टर झिकाउन जिल्ला अदालतको आदेश



काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । त्यसैगरी प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

अदालतले बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ । संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् ।

तर पछि उनले अदलालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको भनी बयान दिएकी थिइन् ।