जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्कियो, २० जनाको मृत्यु, २५ जना घाइते



भारतमा भएको सवारी दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बसमा झण्डै ५० जना यात्रु रहेका थिए ।

उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो । प्रारम्भिक अनुसन्धानले ट्रक चालकको लापर्वाहीका कारण दुर्घटना भएको देखिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

ट्रक चालकले उल्टो दिशामा तिव्र गतिले ट्रक चलाएको उनीहरुको भनाई छ । प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटन समेत भएका थिए ।

विस्फोटनसँगै आगलागी पनि भएको उनीहरुले बताएका छन् ।