अमेरिकाले खुलायो इरानका उच्च सैन्य कमाण्डरमाथि आक्रमण गर्नाको कारण



इरानले अमेरिकाका चार दूतावासमा आक्रमण गर्ने तयारी गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

इरानका उच्च सैन्य कमाण्डर काशिम सुलेमानीले अमेरिकाका चार दूतावासलाई निशाना बनाउने योजना बनाएको थाहा पाएपछि उनलाई लक्षित गरी हवाई आक्रमण गरिएको ट्रम्पले दाबी गरेका हुन्।

इरानको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमुख मेजर जनरल सुलेमानीको गएको हप्ताको शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकाले गरेको हवाई आक्रमणमा मृत्यु भएको थियो । उनको मृत्युपछि अमेरिका र इरानबिचको सम्बन्धमा गम्भीर तनावको अवस्था आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा इरानले चार दूतावासमा आक्रमणको तयारी गरेको थाहा पाएकाले गएको हप्ताको शुक्रबार सुलेमानीमाथि आक्रमण गरिएको दाबी गरेका हुन् ।

लेमानीमाथि हवाई आक्रमण हुनु केही दिनअघि इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शन भएको थियो ।

ट्रम्पले दूतावासलाई निशाना बनाएको दाबी गरे पनि डेमोक्र्याटलाई गुप्तचर निकायले दिएको ब्रिफिङ्गमा दूतावासमा आक्रमण हुने खालको कुनै सूचना वा जानकारी नरहेको उल्लेख छ ।